सार्वजनिक बिदा पुनरावलोकनको तयारी, सरकारले गठन गर्ने भयो कार्यदल
काठमाडौं , ४ साउन
सरकारले सार्वजनिक बिदाको विद्यमान व्यवस्थाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएसँगै हालको बिदा व्यवस्थाको समग्र समीक्षा आवश्यक ठहर गर्दै सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिनेछ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन्।
कार्यदललाई सार्वजनिक बिदासम्बन्धी विद्यमान व्यवस्थाको अध्ययन, समीक्षा तथा आवश्यक सुझावसहित १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
सरकारले कार्यदलको प्रतिवेदनका आधारमा सार्वजनिक बिदा व्यवस्थामा आवश्यक संशोधन वा सुधारबारे थप निर्णय गर्ने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





