सत्य, निष्पक्ष र विश्वसनीय

ओएण्डएमपछि फाजिल कर्मचारी व्यवस्थापन नहुँदासम्म नयाँ स्थायी भर्नामा रोक

न्युज डेस्क
२०८३ श्रावण ४, सोमबार १६:२०

काठमाडौं , ४ साउन
सरकारले नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणपछि फाजिलमा पर्ने कर्मचारीहरूको व्यवस्थापन नभएसम्म नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाउने निर्णय गरेको छ।

सचिवस्तरीय बैठकले ओएण्डएमका कारण विभिन्न निकायमा दरबन्दी कटौती भई फाजिल हुने कर्मचारीहरूको व्यवस्थापनलाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार अब नेपाल सरकारका कुनै पनि निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना नयाँ स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग पठाउन पाउने छैनन्।

सरकारले चालू आर्थिक वर्षभर कार्यरत स्थायी कर्मचारीहरूको उचित व्यवस्थापनलाई प्राथमिकता दिने नीति लिएको छ। यसका लागि सम्बन्धित मन्त्रालय वा निकायले पहिलो चरणमा आफ्नै आन्तरिक दरबन्दीभित्र कर्मचारी मिलान गर्नेछन्।

आन्तरिक मिलानपछि पनि फाजिल रहने कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा संघीय कार्यालय, प्रदेश सरकार वा स्थानीय तहका रिक्त दरबन्दीमा कामकाजका लागि खटाइने व्यवस्था गरिएको छ।

सरकारले कर्मचारी व्यवस्थापन प्रभावकारी बनाउन तथा अनावश्यक नयाँ भर्ना रोक्दै प्रशासनिक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?