सत्य, निष्पक्ष र विश्वसनीय

नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ६५२ किलो गाँजा बरामद, तीन जना पक्राउ

न्युज डेस्क
२०८३ श्रावण ७, बिहीबार ०८:२७

सिरहा, ७ साउन
सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा एक पिकअप गाडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो।

बरामद गाँजाको तौल प्लास्टिकसहित ६६३ किलो र प्लास्टिक हटाउँदा ६५२ किलो रहेको प्रहरीले जनाएको छ। साथै, करिब ९ हजार ९२० किलो नास्पाती समेत नियन्त्रणमा लिइएको छ।

घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेशनमा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ। साथै बरामद गाँजाको स्रोत, गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धानलाई थप विस्तार गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?