सत्य, निष्पक्ष र विश्वसनीय

पत्रकार महासंघ पर्साद्वारा सञ्चारमाध्यममाथिको दबाबप्रति आपत्ति

न्युज डेस्क
२०८३ श्रावण ६, बुधबार २१:४६

नेपाल पत्रकार महासंघ पर्साले सञ्चारमाध्यममाथि पत्र काट्ने कार्यप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

वीरगञ्ज, ६ साउन
नेपाल पत्रकार महासंघ पर्साले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका विषयमा कानुनले तोकेको प्रक्रिया अवलम्बन नगरी प्रहरीमार्फत पत्र काट्ने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा वीरगञ्ज महानगरपालिका–३१ का वडाध्यक्षको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले My TV लाई पत्र काटेको घटनाले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथि अनावश्यक दबाब सिर्जना गरेको उल्लेख गरेको छ।

विज्ञप्तिमा समाचारप्रति असहमति भए सम्बन्धित सञ्चारमाध्यमसँग खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया माग्ने तथा आवश्यक परे प्रेस काउन्सिल नेपालमार्फत कानुनी उपचार खोज्ने स्पष्ट व्यवस्था हुँदाहुँदै सो प्रक्रिया नअपनाई प्रहरीमार्फत सञ्चारमाध्यमलाई पत्र काट्नु कानुनी अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको महासंघको भनाइ छ।

महासंघले संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र पत्रकारिताको सम्मान गर्न सबै पक्षसँग आग्रह गर्दै यस्ता गतिविधि दोहोरिए प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको पेशागत अधिकार संरक्षणका लागि आवश्यक संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?