सरकारद्वारा मिटरब्याजसम्बन्धी सबै फर्जी लिखत अवैध घोषणा
२०८३ श्रावण ६, बुधबार १८:००
मिटरब्याजपीडितसँग भएको सहमति कार्यान्वयन गर्दै सरकारले मिटरब्याज लिने उद्देश्यले गरिएका सबै फर्जी लिखत आजदेखि अवैध घोषणा गरेको छ।

काठमाडौं, ६ साउन
सरकारले मिटरब्याज लिने उद्देश्यले तयार गरिएका सबै फर्जी लिखत आजको मितिबाट अवैध घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले साउन १ गते मिटरब्याजपीडित र सरकारी पक्षबीच भएको सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको जानकारी दिए।
उनका अनुसार उक्त सम्झौताअनुसार आजकै मितिबाट मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखत कानुनी रूपमा अवैध मानिनेछन्।
सरकारले यो निर्णयबाट मिटरब्याजपीडितलाई राहत पुग्ने तथा गैरकानुनी रूपमा तयार गरिएका लिखतमार्फत हुने शोषण अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





