सत्य, निष्पक्ष र विश्वसनीय

आज नेकपाका संस्थापक नेता पुष्पलालको ४८औँ स्मृति दिवस

न्युज डेस्क
२०८३ श्रावण ७, बिहीबार ०७:१३

काठमाडौँ, ७ साउन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलहरूले उहाँको राजनीतिक, वैचारिक तथा संगठनात्मक योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रम आयोजना गरेका छन्।

दिवसका अवसरमा नेकपा (एमाले) बागमती प्रदेश कमिटीसहित विभिन्न कम्युनिस्ट घटकहरूले काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्क तथा देशका विभिन्न स्थानमा श्रद्धाञ्जली अर्पण, विचार गोष्ठी र स्मरण कार्यक्रम सञ्चालन गरेका छन्।

वि.सं. १९८१ असार १५ गते रामेछापको भँगरीमा जन्मिएका पुष्पलाल सहिद गङ्गालाल श्रेष्ठका भाइ हुन्। उहाँले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित विश्वप्रसिद्ध ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलो पटक नेपाली भाषामा अनुवाद गर्दै नेपाली समाजमा मार्क्सवादी दर्शन र साम्यवादको विचारलाई परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुअघि नै उहाँले वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर ‘नेपाली प्रजातान्त्रिक सङ्घ’ गठन गर्नुभएको थियो। त्यसपछि वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गर्नुभएको थियो।

पुष्पलालले निरङ्कुश राणाशासन र पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गर्दै लोकतान्त्रिक शक्तिहरूबीच संयुक्त आन्दोलनको अवधारणा अघि सार्नुभएको थियो। उहाँले प्रतिपादन गरेको ‘संयुक्त जनआन्दोलन’ को नीति नै वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलन सफल हुने महत्वपूर्ण आधार बनेको मानिन्छ।

प्रवासमै रहेर नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक नेतृत्व प्रदान गर्नुभएका पुष्पलाल श्रेष्ठको वि.सं. २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?