बारामा ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ
बाराको जीतपुरसिमरा–७ मा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर र २ किलो ७५४ ग्राम गाँजासहित पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको छ।
वीरगञ्ज, ७ साउन
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ मा प्रह रीले सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सोमबार गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले सोमबार दिउँसो करिब २ बजे पहाडी टोलमा शंकास्पद अवस्थामा हिँडिरहेका स्थानीय २५ वर्षीय विदेशी ठाकुरलाई नियन्त्रणमा लिएको थियो। उनको शरीर तथा साथमा गरिएको खानतलासीका क्रममा थोरै परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ठाकुरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा लागूऔषध परीक्षणका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको छ। बरामद लागूऔषधको स्रोत तथा यसमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी, सोही दिन अपराह्न जीतपुरसिमरा–७ कै सिधरी टोलमा गरिएको अर्को कारबाहीमा स्थानीय ३७ वर्षीय दिवेन्द्र बैठालाई २ किलो ७५४ ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा गाँजा बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार दुवै घटनामा लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





