विश्व व्यापारमा नयाँ दबाब: अमेरिकाले ६० देशका आयातमा थप शुल्क लगायो
काठमाडौं, ८ साउन
अमेरिकाले भारतसहित आफ्ना करिब ६० व्यापारिक साझेदार देशबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ लागू गर्ने घोषणा गरेको छ। अमेरिकी प्रशासनका अनुसार बाध्यकारी श्रम रोक्न पर्याप्त कदम नचालेका देशहरूबाट आयात हुने सामानमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाइनेछ।
नयाँ ट्यारिफ शुक्रबारदेखि लागू हुने अमेरिकी प्रशासनले जनाएको छ। यसअघि विदेशी वस्तुमा अस्थायी रूपमा लागू गरिएको १० प्रतिशत ट्यारिफ भने अब समाप्त हुनेछ।

नयाँ शुल्कको दायरामा भारत, बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापानलगायत प्रमुख व्यापारिक साझेदार देशहरू रहेका छन्। अमेरिकाले यो कदम श्रम अधिकारको संरक्षण र निष्पक्ष व्यापारलाई प्रोत्साहन गर्ने उद्देश्यले चालिएको जनाएको छ।
गत वर्ष डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएपछि व्यापार नीतिमा कडाइ ल्याउने संकेत गरेका थिए। पछिल्लो निर्णयलाई ट्रम्प प्रशासनको व्यापार युद्धको अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यसै वर्ष अमेरिकी सर्वोच्च अदालतले संकटकालीन अधिकार प्रयोग गरी विभिन्न देशमाथि लगाइएका केही ट्यारिफ कानुनी रूपमा वैध नरहेको फैसला सुनाएको थियो। त्यसपछि ट्रम्प प्रशासनले व्यापारिक नीति कार्यान्वयनका लागि वैकल्पिक कानुनी आधारहरू प्रयोग गर्दै आएको छ।
गत महिना ह्वाइट हाउसले बाध्यकारी श्रम रोक्न पर्याप्त प्रयास नगरेका देशहरूबाट अमेरिका आयात हुने वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने प्रस्ताव सार्वजनिक गरेको थियो, जुन अब कार्यान्वयनमा आएको हो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





