चक्रवात अर्नबको प्रभावले आन्ध्र प्रदेशमा ठूलो क्षति, ६ हजार विद्युत् पोल ढले
काठमाडौं, ११ कात्तिक
भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण ठूलो क्षति पुगेको छ । शक्तिशाली आँधीले विभिन्न स्थानमा रूख उखेल्नुका साथै करिब ६ हजार विद्युत् पोल ढालेको छ ।
बीबीसी तेलुगुका अनुसार बुधबार बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातका कारण हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो । भारतीय मौसम विभागका अनुसार बापटला र विशाखापट्टनमको बीचमा पर्ने यानमको दक्षिणी क्षेत्रमा चक्रवात तटमा ठोक्किएको थियो ।

चक्रवातका कारण तटीय क्षेत्रका विभिन्न स्थानमा रूखहरू ढलेका छन् भने विद्युत् संरचनामा समेत ठूलो क्षति पुगेको छ । थप जोखिम रोक्न प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको अधिकारीहरूले जनाएका छन् ।
कोनासीमा जिल्लाका मजिस्ट्रेटका अनुसार जिल्लाभर करिब ६ हजार विद्युत् पोल ढलेका छन् । यसका कारण ठूलो संख्यामा स्थानीय बासिन्दा विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
आन्ध्र प्रदेशका ऊर्जामन्त्री गोट्टीपति रवि कुमारले चक्रवातको प्रभाव कम भएको २४ घण्टाभित्र सबै क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्ने प्रयास गरिने बताएका छन् ।
चक्रवातका कारण यातायात सेवा पनि प्रभावित भएको छ । आन्ध्र प्रदेश र ओडिशा हुँदै सञ्चालन हुने विभिन्न रेलहरू रद्द गरिएका छन् । प्रतिकूल मौसम र थप क्षतिको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले उद्धार, राहत तथा व्यवस्थापनका कार्यलाई प्राथमिकता दिएको छ ।
अधिकारीहरूले चक्रवातको प्रभाव आगामी दुई दिनसम्म रहन सक्ने भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





