धनुषामा लागूऔषधविरुद्ध प्रहरीको एक्सन, खैरो हेरोइनसहित दुई भारतीय कारोबारी पक्राउ
धनुषा, ८ साउन
लागूऔषध नियन्त्रण ब्युरोले धनुषामा दुई राउन्ड हवाई फायर गरेर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले धनुषाको मिथिला नगरपालिका–६ क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा निगरानी गर्ने क्रममा भारतबाट नेपालमा लागूऔषध बिक्री–वितरण गर्न आएका दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू भारतको मधुबनी जिल्लाका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साह रहेका छन्। उनीहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरिएको थियो।
पक्राउ परेकाहरूको साथबाट १५ ग्राम ५१० मिलिग्राम ब्राउन हेरोइन, दुई थान मोबाइल, एक थान भारतीय आधार कार्ड र एक थान भारतीय सवारी चालक अनुमतिपत्र बरामद भएको ब्युरोले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन दुवै जनालाई इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषामा बुझाइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





