कीर्तिपुरमा फुटपाथ व्यवसायीको आत्मदाह प्रयास, प्रहरीले समयमै उद्धार गर्यो
काठमाडौं, ८ साउन
काठमाडौंको कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बिक्री गर्दै आएका एक पुरुषले सोमबार आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले समयमै हस्तक्षेप गरी उनको सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आत्मदाह प्रयास गर्ने जीवन अधिकारीलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले तत्काल नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेको थियो। त्यसपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नयाँबजार क्षेत्रमा नगरपालिकाले कार्यालय समयभरि फुटपाथमा व्यापार गर्न रोक लगाउँदै साँझ ६ बजेदेखि मात्रै व्यापार गर्न अनुमति दिने व्यवस्था गरेको छ। व्यापार गर्ने समय सीमित हुँदा जीविकोपार्जन गर्न कठिन भएको महसुस गर्दै उनले यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जीवन अधिकारीले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनले नगर प्रहरीले सडक पेटी खाली गराउँदा आफ्नो व्यापारमा ठूलो असर परेको भन्दै गुनासोसमेत गरेका छन्।
यसअघि सोमबार नै शीतल निवासअगाडि २७ वर्षीय विशाल तामाङले पनि शरीरमा पेट्रोल खन्याउने प्रयास गरेका थिए। प्रहरीको समयमै हस्तक्षेपपछि उनलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





