कुम्हालटोलमा सात दिनदेखि फोहोर नउठेको आरोप, स्थानीय आक्रोशित
वीरगञ्ज, १५ साउन
वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत कुम्हालटोल क्षेत्रमा फोहोर व्यवस्थापनमा लापरवाही भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। फोहोर उठाउने ट्याक्टरका चालक तथा उनीसँगै आएका व्यक्तिले महानगरपालिकाको निर्देशन भन्दै व्यक्तिगत रूपमा रकम माग्ने गरेको आरोप स्थानीयले लगाएका छन्।
यससम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ। स्थानीयका अनुसार रकम नदिए फोहोर नउठाउने गरेको आरोप छ। यद्यपि, आरोपबारे महानगरपालिकाको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।

कुम्हालटोलस्थित द चिल्ड्रेन गार्डेन मन्टेसरीकी सञ्चालिका रोशनी श्रीवास्तवका अनुसार विद्यालयको फोहोर विगत सात दिनदेखि नउठाइएको हो। विद्यालय परिसरमा डस्टबिन भरिएर फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको र बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्।
श्रीवास्तवका अनुसार आफू एक साताका लागि भारत गएको र फर्किएपछि विद्यालय परिसरमा फोहोर थुप्रिएको देखेकी थिइन्। कर्मचारीसँग बुझ्दा फोहोर उठाउने टोलीले हरेक साता व्यक्तिगत रूपमा रकम माग्ने गरेको र रकम नदिएपछि फोहोर नउठाएको जानकारी पाएको उनको दाबी छ।
“विद्यालयमा साना बालबालिका अध्ययन गर्छन्। फोहोरका कारण संक्रमणको जोखिम बढेको छ,” भन्दै उनले नियमित फोहोर संकलनको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेकी छन्।
स्थानीयवासीका अनुसार फोहोर उठाउने ट्याक्टरका चालक तथा उनीसँगै रहेका व्यक्तिले रकम माग्दै त्यसलाई महानगरपालिकाको निर्देशन भएको बताउने गरेका छन्। सार्वजनिक भएको भिडियोले पनि उक्त विषयमा थप प्रश्न उठाएको छ।
स्थानीयवासी तथा विद्यालय प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न, नियमित फोहोर संकलनको व्यवस्था मिलाउन र यस्ता गतिविधि दोहोरिन नदिन वीरगञ्ज महानगरपालिका तथा वडा नं. ७ कार्यालयसँग माग गरेका छन्।
यस विषयमा वीरगञ्ज महानगरपालिका र वडा कार्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





