सत्य, निष्पक्ष र विश्वसनीय

मधेशका चार जिल्लामा कर्फ्यु जारी, सुरक्षा व्यवस्था कडा

न्युज डेस्क
२०८३ श्रावण १५, शुक्रबार ११:०४

जनकपुरधाम, १५ साउन
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि त्यसको प्रभाव मधेश प्रदेशका केही जिल्लासम्म देखिएको छ। सुरक्षा अवस्था संवेदनशील बनेपछि सिरहा, धनुषा, पर्सा र सप्तरीमा जारी कर्फ्यु आदेशलाई आज पनि निरन्तरता दिइएको छ।

सुनसरीको घटनामा दुई समूहबीचको विवादपछि झडप हुँदा एक जनाको मृत्यु भएको र सर्वसाधारण तथा सुरक्षाकर्मीसहित २२ जना घाइते भएको यसअघिका विवरणमा उल्लेख छ।

घटनापछि विभिन्न स्थानमा तनाव बढ्दै गएपछि सुरक्षा निकायले संवेदनशील क्षेत्रमा सुरक्षा उपस्थिति बढाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनासमेत परिचालन गरी शान्ति–सुरक्षा कायम गर्ने प्रयास भइरहेको छ।

स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै अफवाह तथा अपुष्ट सूचनाको पछि नलाग्न र सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री प्रसार नगर्न प्रशासनले अनुरोध गरेको छ।

सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको र परिस्थिति सामान्य बन्दै गएअनुसार कर्फ्युबारे थप निर्णय गरिने प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?