सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको चिन्ता, शान्ति कायम गर्न अपिल

न्युज डेस्क
२०८३ श्रावण १५, शुक्रबार १२:४१

वीरगञ्ज, १५ साउन
सुनसरीको कप्तानगञ्जबाट सुरु भई विभिन्न स्थानमा देखिएका अशान्तिपूर्ण घटनाप्रति वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (बीआईसीसीआई) ले गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।

शुक्रबार अध्यक्ष हरिप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई कायम राख्न सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता सबैको साझा दायित्व भएको सङ्घले जनाएको छ।

हिंसा र अशान्तिले नागरिकको जनजीवनसँगै उद्योग–व्यवसाय, आर्थिक गतिविधि र राष्ट्रिय विकासमा नकारात्मक असर पार्ने भन्दै सङ्घले असन्तुष्टि तथा विवादलाई संवाद, समझदारी र कानुनी प्रक्रियामार्फत समाधान गर्न आग्रह गरेको छ।

सामाजिक सद्भाव विथोल्ने गतिविधिबाट टाढा रहँदै संयम, आपसी विश्वास र भाइचारा कायम गर्न तथा स्थायी शान्तिका लागि जिम्मेवार भूमिका निर्वाह गर्न सङ्घले नागरिक र सम्बन्धित निकायलाई अपिल गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?