सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप’ सम्पन्न

न्युज डेस्क
२०८३ श्रावण १६, शनिबार १६:५७

वीरगञ्ज, १६ साउन
राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६’ को फाइनल चरण शनिबार वीरगञ्जमा सम्पन्न भएको छ।

आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित कार्यक्रममा समाजसेवी तथा उद्योगपति जगदीश अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। युवामा सार्वजनिक वक्तृत्वकला, तर्कशक्ति, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष ज्योति क्याल र वीरगञ्ज टोस्टमास्टर्स क्लबकी अध्यक्ष खुशी अग्रवालले सहभागी विद्यार्थीलाई निरन्तर अध्ययन, अभ्यास तथा नेतृत्व विकासमा जोड दिन आग्रह गरेका थिए।

प्रतियोगिताको फाइनल चरणमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरूले ‘इन्टरनेटका फाइदा र बेफाइदा’ तथा ‘सामाजिक सञ्जालका फाइदाभन्दा बेफाइदा बढी छन्’ भन्ने विषयमा खुला बहस गर्दै आफ्ना तर्क, विश्लेषण र प्रस्तुति क्षमता प्रदर्शन गरेका थिए।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम, समाजसेवी एवं उद्योगपति गणेश लाठ, मानवसेवा आश्रमका देवेश गुप्ता, शिक्षाविद् राजेन्द्र कोइराला, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यलगायतको उपस्थिति थियो।

राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानले दूरदर्शी नेतृत्व विकास, आजीवन सिकाइ, साहित्य तथा सामाजिक चेतना प्रवर्द्धन र उद्यमशीलताको विकासमार्फत नैतिक तथा समुन्नत समाज निर्माणलाई आफ्नो उद्देश्य बनाएको जनाएको छ।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीमा आलोचनात्मक सोच, प्रभावकारी सञ्चारकला, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?