सत्य, निष्पक्ष र विश्वसनीय

एनवाईईएफ वीरगञ्ज र द स्टार्टअप नेटवर्कबीच एमओयू

न्युज डेस्क
२०८३ श्रावण १६, शनिबार २१:५३

वीरगञ्जमा आयोजित कार्यक्रममा एनवाईईएफ वीरगञ्ज च्याप्टर र द स्टार्टअप नेटवर्कबीच समझदारीपत्रमा हस्ताक्षर गर्दै पदाधिकारी तथा सहभागीहरू।

वीरगञ्ज, १६ साउन
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टर र द स्टार्टअप नेटवर्क (टीएसएन) बीच नेपालमा उद्यमशीलता, नवप्रवर्तन, स्टार्टअप विकास तथा क्षमता अभिवृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
वीरगञ्जमा शनिबार आयोजित कार्यक्रममा एनवाईईएफ वीरगञ्ज च्याप्टरका स्टार्टअप चेयर अतुल राउतको नेतृत्वमा दुवै संस्थाबीच औपचारिक रूपमा एमओयूमा हस्ताक्षर गरिएको हो।
समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) का अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मधेश प्रदेशका आईपीपी अशोक टेमानी, बीआईसीसीआईका उपाध्यक्ष माधव राजपाल, नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) का अध्यक्ष अभिषेक चौधरी, द स्टार्टअप नेटवर्कका अध्यक्ष सुदीप रौनियारलगायत दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।
समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम, स्टार्टअप लक्षित मेन्टरसिप, क्षमता अभिवृद्धि तालिम, नेटवर्किङ कार्यक्रम तथा नवप्रवर्तनमा आधारित विभिन्न गतिविधि सञ्चालन गर्नेछन्।
सहकार्यले नयाँ सोच भएका युवालाई व्यवसाय सुरु गर्न आवश्यक ज्ञान, सीप, सञ्जाल र अवसर उपलब्ध गराउँदै नेपालको स्टार्टअप इकोसिस्टमलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।
कार्यक्रममा वक्ताहरूले नेपालमा उद्यमशीलताको सम्भावना विस्तार हुँदै गएको उल्लेख गर्दै निजी क्षेत्र, उद्यमी संस्था तथा स्टार्टअप समुदायबीचको सहकार्यले नवप्रवर्तनमा आधारित व्यवसायलाई थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरे।
दुवै संस्थाका प्रतिनिधिहरूले एमओयूले विशेषगरी मधेश प्रदेशसहित देशभरका युवा उद्यमी तथा स्टार्टअपलाई नयाँ अवसर सिर्जना गर्न, लगानी तथा सहकार्यका सम्भावना बढाउन र व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?