सामाजिक सद्भाव कायम राख्न पर्सा प्रहरीले गर्यो अनुरोध
पर्सा, १८ साउन
वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउने खालका सामग्री पोस्ट नगर्न सर्वसाधारणमा आग्रह गरेको छ।
प्रहरीले सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर विभिन्न हिन्दूवादी संगठनका समर्थकबाट सामाजिक सञ्जालमा विगतका साम्प्रदायिक हिंसा भड्काउने खालका फोटो तथा भिडियो पोस्ट भइरहेको भन्दै त्यस्ता गतिविधिप्रति ध्यानाकर्षण गराएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले अफवाह, झुटा तथा भ्रामक पोस्ट र घृणात्मक अभिव्यक्ति (Hate Speech) का कारण सामाजिक सद्भाव तथा आपसी भाइचारा प्रभावित हुन सक्ने भन्दै यस्ता सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ। साथै, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सहयोग गर्न प्रहरीले सबै पक्षलाई आग्रह गरेको छ।
प्रहरीले कसैले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता बिगार्ने किसिमका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





