भूमिहीनको हातमा लालपुर्जा, १३ परिवारलाई जग्गाको स्वामित्व
काठमाडौं, ३० साउन
जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाका १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
कनकाइ नगरपालिका वडा नम्बर ३ र ६ का भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी गरी १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो।

समितिले सार्वजनिक गरेको विवरणअनुसार वितरण गरिएका जग्गामध्ये केही आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका लागि उपलब्ध गराइएको छ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। पुर्जा प्राप्त भएपछि उनीहरूमा खुसी छाएको छ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। सोही लक्ष्यअनुसार उनीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गरी कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यले लालपुर्जा वितरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको बताइएको छ।
जग्गाधनी पुर्जा वितरणले वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित परिवारलाई कानुनी अधिकार प्रदान गर्नुका साथै सुरक्षित आवास, कृषि तथा आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





