वीरगञ्ज–दिल्ली व्यावसायिक सहकार्यका लागि NYEF र ECCI बीच समझदारी
वीरगञ्ज, २ भदौ
नेपालिज यङ इन्टरप्रेनर्स फोरम (NYEF) वीरगञ्ज च्याप्टरले भारतको नयाँदिल्लीस्थित एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (ECCI) सँग ‘बियोन्ड बोर्डर्स : वीरगञ्ज–दिल्ली कनेक्ट २०२६’ अन्तर्गत महत्वपूर्ण व्यावसायिक भेटघाट तथा छलफल गरेको छ।
भेटघाटका क्रममा NYEF वीरगञ्ज च्याप्टर र ECCI नयाँदिल्लीबीच भविष्यमा संयुक्त कार्यक्रम सञ्चालन, व्यावसायिक सहकार्य, सञ्जाल विस्तार, ज्ञान तथा अनुभव आदान–प्रदान र नेपालमा लगानीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो।
छलफलमा नेपालमा उत्पादित वस्तु तथा सामग्रीलाई भारतीय बजारमा प्रवर्द्धन गर्ने विषयमा समेत विशेष जोड दिइएको थियो। साथै, नयाँदिल्ली र वीरगञ्ज दुवै स्थानमा ‘मेड इन नेपाल एक्स्पो’ आयोजना गर्ने सम्भावनाबारे महत्वपूर्ण छलफल भएको जनाइएको छ।
NYEF वीरगञ्ज च्याप्टर र ECCIबीचको यो सहकार्यले नेपाल–भारतबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै युवा उद्यमीका लागि लगानी, बजार विस्तार, व्यावसायिक साझेदारी तथा नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
क्याप्सन:
वीरगञ्ज–दिल्ली व्यावसायिक सहकार्य विस्तार गर्न NYEF वीरगञ्ज र ECCI नयाँदिल्लीबीच एमओयूमा हस्ताक्षर। नेपालमा उत्पादित वस्तुको भारतीय बजारमा प्रवर्द्धन तथा वीरगञ्ज र नयाँदिल्लीमा ‘मेड इन नेपाल एक्स्पो’ आयोजना गर्ने विषयमा समेत छलफल।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





