सत्य, निष्पक्ष र विश्वसनीय

चकलेटको प्रलोभन देखाएर लगिएकी तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

न्युज डेस्क
२०८३ भाद्र ३, बुधबार १३:३८

बारा, ३ भदौ
जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेर जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा समेत प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो। प्रहरीका अनुसार मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको छ।
प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट जितपुरसिमरा–२ निवासी भिम सेन थापाका छोरा तथा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाईफुल्याई घटनास्थलमा लगेको खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले सुमन थापालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?