बालिकाको हत्या विरोधमा पथलैया–वीरगन्ज सडक अवरुद्ध
बारा, ०३ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएका छन्।
घटनामा संलग्न दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासीले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरुद्ध गरेका छन्।
साउन ३१ गते बिहानदेखि बेपत्ता भएकी बालिका गरिमाको शव मंगलबार साँझ स्थानीय एक खाली घरभित्र फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकालाई चकलेटको प्रलोभन देखाएर जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेपछि स्थानीयवासी आक्रोशित बनेका हुन्।
प्रदर्शनका कारण सडकखण्डमा यातायात प्रभावित भएको छ। स्थिति नियन्त्रणमा लिन तथा सडक सञ्चालनमा ल्याउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले म्याजिकका सहचालक सुमन थापासहित सवारीधनी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
स्थानीयवासीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय तथा आवश्यक राहत उपलब्ध गराउन माग गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





