सत्य, निष्पक्ष र विश्वसनीय

बसपार्क व्यवस्थापनमा भएको सहमति कार्यान्वयन नभएको भन्दै बस व्यवसायी आक्रोशित

न्युज डेस्क
२०८३ भाद्र ४, बिहीबार १६:०३

वीरगन्ज, ४ भदौ
वीरगन्ज बसपार्कबाट विद्युतीय सवारीसाधनको जथाभावी सञ्चालन रोक्न तथा बसपार्कलाई व्यवस्थित बनाउने विषयमा जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको सहमति चार महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै बस व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन्।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा गत वैशाख २२ गते ट्राफिक प्रहरी, बस व्यवसायी, विद्युतीय सवारीसाधन सञ्चालकलगायत सरोकारवालाबीच भएको बैठकले बसपार्क व्यवस्थापन तथा विद्युतीय सवारी सञ्चालनलाई व्यवस्थित गर्ने विषयमा विभिन्न बुँदामा सहमति गरेको थियो। तर सहमति भएको लामो समय बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन नभएको व्यवसायीहरूको गुनासो छ।
बसपार्कमा हुने विकृति रोकथाम, यात्रुलाई सहज सेवा उपलब्ध गराउने तथा सवारी सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यले गरिएको सहमति कार्यान्वयन नहुँदा यात्रु र व्यवसायी दुवै समस्यामा परेको उनीहरूको भनाइ छ। टिकट काट्ने नाममा बिचौलिया परिचालन गरी यात्रुलाई दुःख दिने गतिविधिसमेत अझै नरोकिएको व्यवसायीहरूले बताएका छन्।
सहमति अनुसार दिवा सेवामा सञ्चालन हुने विद्युतीय सवारीसाधन तथा टाटा सुमोलाई दिउँसो २ बजेसम्म मात्र सञ्चालन गर्ने समय तोकिएको थियो। तर तोकिएको समयपछि पनि यस्ता सवारीसाधन साँझ ७ बजेसम्म सञ्चालन हुँदा रात्रि सेवाका बस प्रभावित भइरहेको एक बस व्यवसायीले बताए।
व्यवसायीका अनुसार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच भएको सहमति तत्काल र कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ। सहमति पालना नभएपछि बसपार्कको अवस्था पुनः पुरानै शैलीमा लथालिङ्ग र भद्रगोल बन्दै गएको उनीहरूको भनाइ छ।
बस व्यवसायीहरूले सम्बन्धित निकायले सहमति कार्यान्वयनमा तत्काल ध्यान दिई बसपार्कको सञ्चालनलाई व्यवस्थित बनाउन माग गरेका छन्।
क्याप्सन: वीरगन्ज बसपार्कमा भएको सहमति कार्यान्वयन नभएको भन्दै बस व्यवसायीहरूले तत्काल व्यवस्थापन सुधार गर्न माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?