नारायणी अस्पतालमा सुरक्षा चुनौतीः एकदिने नवजात शिशु चोरेर महिला फरार
वीरगञ्ज, १५ भदौ
वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु हराएपछि परिवारमा तनाव बढेको छ। सर्लाहीको रामनगर नगरपालिका–३ का रञ्जय दास र रिंकु देवी दासका नवजात छोरा अस्पतालको गाइनो वार्डबाट गायब भएको परिवारजनले बताएका छन्।
परिवारका अनुसार बच्चालाई गाइनो वार्डको बेड नम्बर ११ मा राखिएको थियो। बच्चाको हेरचाह भइरहेको समयमा सरसफाइ कर्मचारीका रूपमा परिचय दिने एक महिलाले खेलाउने भन्दै शिशुलाई आफूसँग लगेकी थिइन्। त्यसपछि ती महिला बच्चासहित सम्पर्कविहीन भएको परिवारको भनाइ छ।
शिशुकी हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइको काम गर्ने गरेको बताउँदै आएकी थिइन्। बच्चालाई खेलाउने भन्दै लिएर गएपछि उनी नफर्किएको उनले बताइन्।
साँझा देवीका अनुसार आफू बच्चाको हेरचाहका लागि गाइनो वार्डमै बसेकी थिइन्। तर, अस्पतालका सुरक्षा गार्डले वार्डभित्र बस्न नदिएपछि आफू बाहिर जानुपरेको उनको भनाइ छ। आफू बाहिरिएको केही समयपछि ती महिलाले बच्चालाई लिएर गएको परिवारले जनाएको छ।
परिवारजनका अनुसार शिशुलाई लिएर फरार भएकी महिलाले हरियो मास्क र रातो मेक्सी लगाएकी थिइन्। घटनाबारे जानकारी पाएलगत्तै परिवारले प्रहरीलाई खबर गरेका छन्।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै नवजात शिशुको खोजी गरिरहेको जनाएको छ। घटनापछि परिवारले अस्पतालको सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठाएका छन्।
अस्पतालबाटै एकदिने नवजात शिशु हराउनु अत्यन्त संवेदनशील घटना भएको भन्दै परिवारले तत्काल शिशुको खोजी गरी संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





