सत्य, निष्पक्ष र विश्वसनीय

भोटेकोसी बाढीपीडितका लागि वीरगञ्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

न्युज डेस्क
२०८३ भाद्र १३, शनिबार २०:३३

वीरगञ्ज, १३ भदौ
भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि वीरगञ्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका बैठकले बाढीपीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। महानगरपालिकाले उक्त रकम आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने जनाएको छ।
महानगरपालिकाको निर्णयअनुसार ३२ वटै वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराइनेछ। यसका साथै महानगरपालिकाका जनप्रतिनिधिले एक महिनाको तलब तथा सेवा–सुविधाबापत प्राप्त रकमसमेत राहत कोषमा उपलब्ध गराउने भएका छन्।
त्यस्तै, महानगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग रकममा समावेश गरिने जनाइएको छ।
भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन आकस्मिक बैठकमार्फत आर्थिक सहायता गर्ने निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले बताए।
महानगरपालिकाले विपद्को समयमा स्थानीय तहबाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता आवश्यक रहेको जनाएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनर्स्थापनामा समेत सहयोग पुग्ने अपेक्षासहित रकम उपलब्ध गराउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?