वीरगञ्जमा नेवार समुदायको परम्परागत गाईजात्रा भव्य रूपमा सम्पन्न
वीरगञ्ज, १३ भदौ
नेवार समुदायले दिवंगत पितृहरूको सम्झनामा मनाउँदै आएको परम्परागत गाईजात्रा पर्व वीरगञ्जमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। सपारु समिति पर्साको आयोजनामा बाजागाजासहित गाईजात्रा निकालिएको हो।
सपारु समिति पर्साका अध्यक्ष सञ्जय जोशीको अध्यक्षतामा वीरगञ्ज–६ स्थित अलखिया अतिथि सदनबाट सुरु भएको गाईजात्रा मेनरोड हुँदै माइस्थान मन्दिर पुगेर दर्शन गरेको थियो। त्यसपछि २ नम्बर रोड हुँदै बिर्तामाई मन्दिरमा दर्शन गरी पुनः मेनरोड हुँदै अलखिया अतिथि सदनमा पुगेर जात्रा समापन गरिएको थियो।

सो अवसरमा अध्यक्ष जोशीले गाईजात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै मल्लकालदेखि नै यो पर्व मनाउँदै आएको बताउनुभयो। उहाँका अनुसार राजा जयप्रकाश मल्लका छोराको अल्पायुमै असामयिक निधन भएपछि रानी लामो समयसम्म पुत्रशोकमा डुब्नुभएको थियो। रानीलाई शोकबाट बाहिर ल्याउन राज्यभर मृत्यु भएका व्यक्तिका परिवारजनलाई सहभागी गराई विभिन्न स्वरूपमा गाई, राधाकृष्ण, जोगी लगायतका झाँकीसहित जात्रा निकालिएको इतिहास रहेको उहाँले बताउनुभयो।
जात्रा देखेपछि रानीले ‘मृत्यु सबैको जीवनमा एक दिन आउने रहेछ’ भन्ने महसुस गर्दै जनताको दुःखमा सहभागी हुनुभएको र त्यसै समयदेखि दिवंगत पितृहरूको सम्झना तथा सम्मानस्वरूप गाईजात्रा मनाउने परम्परा सुरु भएको अध्यक्ष जोशीले बताउनुभयो।
उहाँले गाईजात्रा केवल पर्व मात्र नभई नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक धरोहर भएको बताउँदै वीरगञ्जमा पनि वर्षौंदेखि यस पर्वलाई निरन्तरता दिइँदै आएको उल्लेख गर्नुभयो।
गाईजात्रामा वीरगञ्जका नेवार समुदायका साथै विभिन्न समुदायका अग्रज, महिला, युवा तथा सपारु समिति पर्साका पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सहभागीहरूले जात्रा, पर्व तथा परम्पराहरू कुनै एक समुदायको मात्र नभई सम्पूर्ण समाजको साझा सांस्कृतिक सम्पत्ति र धरोहर भएकाले यसको संरक्षण गर्दै आगामी पुस्तालाई समेत यसको महत्वबारे जानकारी गराउनुपर्नेमा जोड दिएका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





