नारायणी अस्पतालबाट नवजात शिशु चोरी, महिला पक्राउ
वीरगञ्ज, १५ भदौ
वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी गरी लैजाने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा बस्ने रञ्जय दासकी २७ वर्षीया श्रीमती रिंकु देवीले वीरगञ्ज महानगरपालिका–८ स्थित नारायणी अस्पतालमा शल्यक्रियामार्फत छोरा जन्माएकी थिइन्।
अस्पतालमा सुत्केरीको कुरुवा बसिरहेका आफन्तसँग बच्चा खेलाउने बहाना बनाई एक महिलाले नवजात शिशुलाई अनधिकृत रूपमा लिएर गएको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो।
प्रहरीको विशेष टोलीले भदौ १५ गते राति करिब ११ बजे चोरी भएको नवजात शिशुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने २७ वर्षीया सबिना खातुनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





