सत्य, निष्पक्ष र विश्वसनीय

श्री आदर्श मावि वीरगञ्जमा विद्यार्थीहरूको पदस्थापना तथा ब्याज वितरण कार्यक्रम सम्पन्न

न्युज डेस्क
२०८३ भाद्र १८, बिहीबार १३:०१

बिरगंज १८ भदौ
श्री आदर्श माध्यमिक विद्यालय, आदर्शनगर वीरगञ्जमा विद्यार्थीहरूको पदस्थापना (Investiture) तथा ब्याज वितरण समारोह सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक राम विनोद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश लाठ, बीपीसी कलेजका हरि रत्न तुलाधर, डा. बासु कर्ण, डा. अरविन्द श्रेष्ठ, मानव सेवा आश्रम वीरगञ्जका देवेश गुप्ता, ओमकुमार झा लगायत सञ्चारकर्मी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहका क्रममा विद्यालयका विभिन्न हाउसका क्याप्टेन तथा कक्षा मनिटरहरूलाई प्रमुख अतिथि चौधरीसहित विशिष्ट अतिथिहरूले ब्याज वितरण गरी पदस्थापना गराएका थिए। पदस्थापित विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहने गरी सपथसमेत गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरोज प्रसाद चौधरीले विद्यार्थी जीवनमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीबोधको महत्वपूर्ण भूमिका रहने बताए। उनले विद्यालयमा विद्यार्थीहरूलाई पढाइसँगै नेतृत्व विकासको अवसर प्रदान गर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै पदस्थापित विद्यार्थीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले भने, “विद्यार्थीहरू भविष्यका कर्णधार हुन्। नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र होइन, जिम्मेवारी बहन गर्नु पनि हो। आज पदस्थापित भएका विद्यार्थीहरूले अनुशासन, इमानदारी र सहकार्यको भावनासहित आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।”

प्रमुख अतिथि चौधरीले विद्यार्थीहरूले आफूले प्राप्त गरेको जिम्मेवारीलाई विद्यालयको अनुशासन, शैक्षिक वातावरण र सहपाठीहरूको हितमा प्रयोग गर्नुपर्ने बताए। उनले विद्यालयले विद्यार्थीको व्यक्तित्व विकाससँगै नेतृत्व क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै, कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूलाई शुभकामना दिँदै नेतृत्व गर्दा सबैलाई समान व्यवहार गर्ने, शिक्षक तथा अभिभावकको सम्मान गर्ने र विद्यालयको गरिमा कायम राख्ने कार्यमा ध्यान दिन आग्रह गरेका थिए।

विद्यालयका प्रधानाध्यापक राम विनोद पाण्डेले विद्यार्थीहरूको क्षमता र नेतृत्व विकासका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप तथा जिम्मेवारी प्रदान गर्दै आएको बताए। उनले पदस्थापित विद्यार्थीहरूले विद्यालयको अनुशासन र शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

पदस्थापना समारोहले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन तथा सामूहिक जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ। कार्यक्रम विद्यालय परिवारको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?