रसुवा–भोटेकोसी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन
काठमाडौं, १९ भदौ
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरिएको समितिमा संघीय मामिला महाशाखा, पूर्वाधार मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, जिल्ला प्रशासन, स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भूमि प्रशासन तथा नापी कार्यालयका प्रतिनिधि सदस्य रहेका छन्। उपसचिव प्रा. दामोदर वाग्ले सदस्य–सचिव रहेका छन्।
मन्त्रालयका अनुसार समितिले बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, साविककै स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्नेछ।
त्यस्तै, समितिले बाढीपीडितको पुनःस्थापनाका लागि आवश्यक जग्गा छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियाबारे अध्ययन गरी सुझाव तथा सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ।
समितिले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी बाढीपीडित परिवारको वास्तविक विवरण संकलन तथा पहिचान गर्नेछ। पुनःस्थापनाका लागि आवश्यक जग्गा स्थानीय तह, जिल्लास्थित भूमि प्रशासन कार्यालय र नापी कार्यालयको सहयोगमा पहिचान गरिने मन्त्रालयले जनाएको छ।
पहिचान भएका जग्गाको स्थलगत अध्ययन गरी सम्बन्धित विषयविज्ञको सहयोगमा प्रारम्भिक विपद् जोखिम मूल्याङ्कनसमेत गरिनेछ। अध्ययनका क्रममा जग्गाको भौगोलिक अवस्था, बाढी तथा पहिरोको जोखिम, बसोबासका लागि उपयुक्तता र आवश्यक पूर्वाधारको अवस्थालगायत विषयलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





