नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि आंशिक बन्द हुने
चितवन, २२ भदौ
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा आज (भदौ २२ गते) देखि दैनिक रूपमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना जारी गर्दै सडक मर्मत तथा माटो कटान कार्यका लागि निश्चित समय तोकेर सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार मुग्लिन–काठमाडौँ सडकखण्डको कृष्णभीरमा सडक मर्मत तथा नयाँ ट्रयाक खोल्ने कार्य जारी रहेकाले हाल उक्त मार्गमा सवारी चाप न्यून रहेको छ।
सोही अवसरलाई सदुपयोग गर्दै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला परियोजनाको भित्तो काट्ने (माटो कटान) कार्य अघि बढाउन लागिएको प्रशासनले स्पष्ट पारेको छ। यसबाट सवारी साधन र यात्रुलाई पर्न सक्ने असुविधालाई न्यूनीकरण गर्न कार्यतालिका बनाएर काम अघि बढाइएको हो।
प्रशासनद्वारा जारी कार्यतालिका अनुसार दैनिक बिहान ६:०० बजेदेखि ८:०० बजेसम्म, बिहान ८:३० देखि १०:३० सम्म, बिहान ११:०० देखि दिउँसो १:०० सम्म, दिउँसो १:३० देखि ३:३० सम्म र दिउँसो ४:०० देखि साँझ ६:०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ। यसैगरी, बीचका आधा घण्टाको अन्तराल (बिहान ८:००–८:३०, बिहान १०:३०–११:००, दिउँसो १:००–१:३०, दिउँसो ३:३०–४:००) मा सवारी साधन छोडिनेछ भने साँझ ६:०० बजेपछि भने बाटो खुला रहनेछ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा कृष्णभीर खण्डको मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सुचारु नहुन्जेलसम्मका लागि यो तालिका लागू हुने जनाइएको छ।
साथै, तोकिएको समयतालिकालाई ध्यानमा राखेर मात्र आफ्नो यात्रा तय गर्न तथा सवारी सञ्चालन गर्न सम्पूर्ण यात्रु र चालकहरूमा अनुरोध गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





