सत्य, निष्पक्ष र विश्वसनीय

तीन वर्षीया बालिका अपहरण मुद्दामा मुख्य प्रतिवादी चौधरीलाई २० हजार धरौटीमा रिहा

न्युज डेस्क
२०८३ भाद्र २६, शुक्रबार १६:४१

बारा, २६ भदौ
तीन वर्षीया गरिमाको मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये १० जनालाई अदालतले तत्काल थुनामा नराख्ने आदेश दिएको छ। अभियोग लाग्दैमा दोषी ठहर हुँदैन भने अब घटनामा वास्तविक दोषी को हो भन्ने प्रमाणले कहिले स्पष्ट गर्ला?

बारा जिल्ला अदालतले सिमराकी तीन वर्षीया बालिका गरिमाको बलात्कार तथा हत्या प्रकरणमा प्रतिवादी बनाइएका १० जनालाई तत्काल थुनामा नराख्ने आदेश दिएको छ।

प्रमुख जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोगेश भन्ने पुग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यस्तै, उनीसँगै पक्राउ परेका उनका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता तथा सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताएका छन्।

अदालतका अनुसार उनीहरूको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त तथा ठोस प्रमाण तत्काल नदेखिएकाले यस्तो आदेश गरिएको हो। उनीहरूविरुद्ध गरिमाका बुबा मनोज चौधरीले किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो।

यसअघि घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई बाल सुधार गृहमा राखी पुर्पक्ष गर्न अदालतले आदेश दिएको थियो। उनीहरूलाई वीरगन्जस्थित बाल सुधार गृह पठाइएको छ।

गत साउन ३१ गते घरमा खेल्ने क्रममा बेपत्ता भएकी गरिमा भदौ २ गते साँझ भक्तिनगरस्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। बालिकाको शव फेला परेपछि स्थानीय र पीडित परिवारले राजमार्ग अवरुद्ध गर्दै देशभर विरोध प्रदर्शन गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?