सत्य, निष्पक्ष र विश्वसनीय

जगरनाथपुरका दुई सामुदायिक विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

न्युज डेस्क
२०८३ भाद्र २६, शुक्रबार १७:२६

पर्सा, २६ भदौ
जगरनाथपुर गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) गठन गरिएको छ।
विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई समान रूपमा शिक्षाको अवसर उपलब्ध गराउने तथा शिक्षाको पहुँच र सहभागिताबाट पछाडि परिरहेका बालबालिकालाई मूलधारमा ल्याउने उद्देश्यले सञ्जाल गठन गरिएको हो।
Accountability Lab Nepal को आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजना–FSTP कार्यक्रमअन्तर्गत जगरनाथपुर गाउँपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुर सिरामा विद्यालयस्तरीय सञ्जाल गठन गरिएको हो।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा स्वीकृत ‘बालिका तथा समावेशी शिक्षा सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी मापदण्ड, २०८०’ बमोजिम दुवै विद्यालयमा सञ्जाल गठन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले विद्यालयमा बालबालिकाको पहुँच विस्तार भए पनि सामाजिक, आर्थिक, लैङ्गिक, भौगोलिक तथा अन्य कारणले कतिपय बालबालिका अझै समान शैक्षिक अवसरबाट वञ्चित रहेको बताएका थिए। यस्ता समस्या पहिचान गरी समाधानका लागि विद्यालयस्तरमै सक्रिय संयन्त्र आवश्यक रहेको उनीहरूको भनाइ थियो।
विशेषगरी बालिका, अपाङ्गता भएका बालबालिका, सीमान्तकृत तथा पछाडि परेका समुदायका बालबालिकाले शिक्षामा पहुँच, नियमित सहभागिता र निरन्तरताका क्रममा विभिन्न अवरोध सामना गर्नुपर्ने भएकाले उनीहरूका समस्यालाई प्राथमिकतामा राखेर सञ्जाल गठन गरिएको हो।
सञ्जाल गठन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, Accountability Lab Nepal का प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा सञ्जालको आवश्यकता, उद्देश्य, भूमिका, जिम्मेवारी तथा विद्यालयमा यसको प्रभावकारी परिचालनका विषयमा छलफल गरिएको थियो।
गठित सञ्जालले विद्यालयमा बालमैत्री, सुरक्षित तथा समावेशी वातावरण निर्माण, बालिकाको अर्थपूर्ण सहभागिता अभिवृद्धि, विभेद तथा शैक्षिक अवरोधको पहिचान र समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गर्नेछ।
त्यसैगरी विद्यार्थी तथा अभिभावकका गुनासा, सुझाव र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै आवश्यकताअनुसार विद्यालय व्यवस्थापन, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्ने व्यवस्था गरिएको जनाइएको छ।
कार्यक्रममा बालिकाको सहभागिता बढाउनु मात्र पर्याप्त नभई उनीहरूलाई नियमित रूपमा विद्यालय आउने, सुरक्षित वातावरणमा सिक्ने, आफ्नो विचार राख्ने र शिक्षालाई निरन्तरता दिने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाका लागि विद्यालयको वातावरण सहज र पहुँचयोग्य बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
‘कसैलाई पनि पछाडि नछोड्ने (Leave No One Behind)’ अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै सबै बालबालिकाका लागि समान, सुरक्षित, गुणस्तरीय तथा समावेशी शिक्षाको वातावरण निर्माण गर्न विद्यालय, अभिभावक, स्थानीय सरकार र अन्य सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको कार्यक्रममा निष्कर्ष निकालिएको थियो।
नवगठित सञ्जालले विद्यालयमा देखिने शैक्षिक, सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्ने तथा बालबालिकाको अधिकार र शिक्षामा समान पहुँच सुनिश्चित गर्न पहल गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको सहजीकरणमा सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?