राष्ट्रिय परिचयपत्र बनाउन आएका चार ज्येष्ठ नागरिक भोकै खुला आकाशमुनि
सिरहा, २७ भदौ
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सिरहा पुगेका चार जना ज्येष्ठ नागरिक दिनभर पालो नआएपछि भोकै खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन्।
सुखीपुर नगरपालिका–८ का ज्येष्ठ नागरिक सुकन पण्डित र कल्पना पण्डित तथा कल्याणपुर नगरपालिका–४ का महन्थी ठाकुर र अतरदेवी साह बिहीबार बिहानै राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए। तर, दिनभर पालो कुर्दासमेत उनीहरूको परिचयपत्र बन्न सकेन।

बिहानै खाना नखाई घरबाट आएका उनीहरूले दिउँसो चिउरा र चिनी किनेर खाएका थिए। साँझसम्म पनि काम पूरा नभएपछि उनीहरू आर्थिक अभावका कारण खाना खान नसकेको अवस्थामा कार्यालय परिसरमै बस्न बाध्य भएका छन्।
ज्येष्ठ नागरिक सुकन पण्डितले आफूहरू गरिब भएकाले गाउँबाट सरसापट गरेर राष्ट्रिय परिचयपत्र बनाउन आएको बताए।
‘हामी गरिब मान्छे, गाउँबाट सरसापट गरेर राष्ट्रिय परिचयपत्र बनाउन आएका हौं,’ उनले पीडा सुनाउँदै भने, ‘कुन पैसाले काम गराउने, कुन पैसाले यहाँ खाना खाने ?’
दिनभर सरकारी कार्यालयमा पालो कुर्दासमेत सेवा पाउन नसकेपछि ज्येष्ठ नागरिकहरू थप समस्यामा परेका छन्। उनीहरूलाई रात बिताउनसमेत उचित व्यवस्था नभएको बताइएको छ।
ज्येष्ठ नागरिकलाई सहज र प्राथमिकताका साथ सेवा उपलब्ध गराउनुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयमा लामो समय पालो कुर्नुपर्ने अवस्था देखिएको छ। यस घटनाले सार्वजनिक सेवा प्रवाहमा ज्येष्ठ नागरिक तथा विपन्न नागरिकका लागि विशेष व्यवस्था आवश्यक रहेको देखाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





