सत्य, निष्पक्ष र विश्वसनीय

पुरानो घटना, नयाँ दाबी : ज्वाला संग्रौलाको पोस्टमाथि उठ्यो प्रश्न

न्युज डेस्क
२०८३ भाद्र ३०, मंगलवार ०५:३५

काठमाडौं, ३० भदौ
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा प्रतिनिधिसभा सदस्य ज्वाला संग्रौलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सामग्रीमाथि प्रश्न उठेको छ। गत चैतमा भएको पुरानो ग्यास कारबाहीको घटनालाई वर्तमान ग्यास अभावसँग जोडेर प्रस्तुत गरिएको भन्दै उनको पोस्टलाई भ्रामक सूचनाका रूपमा टिप्पणी गरिएको हो।


ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजार ३७७ थान भरिएका सिलिन्डर फेला परेको घटना हालैको नभई २०२६ मार्च १६ (चैत २ गते) को रहेको तथ्य जाँचबाट खुलेको छ। उक्त घटनामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले गोदाममा छापा मारेको थियो।
त्यस क्रममा ठूलो संख्यामा भरिएका सिलिन्डर फेला परेपछि विभागले उपभोक्ता संरक्षण ऐनअन्तर्गत उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको थियो। हिमालयन टेलिभिजनलगायत सञ्चारमाध्यमले पनि सोही समयमा घटनाबारे समाचार तथा भिडियो सामग्री प्रकाशित गरेका थिए।
तर अहिले बजारमा एलपी ग्यासको अभाव भइरहेका बेला उक्त पुरानो घटनालाई वर्तमान परिस्थितिसँग जोडेर सामाजिक सञ्जालमा सामग्री फैलाइएको देखिएको छ। यसै क्रममा कतिपय पोस्टमा नेकपा (एमाले) का नेता रामनाथ पौडेलले सिलिन्डर लुकाएको दाबीसमेत गरिएको छ। यस्ता दाबीको स्वतन्त्र पुष्टि भने आवश्यक देखिन्छ।
उपलब्ध तथ्यअनुसार श्रीराम ग्यासको गोदाममा सिलिन्डर फेला परेको घटना हालको ग्यास अभावका बेला भएको घटना होइन। त्यसैले पुरानो घटनालाई वर्तमान अभावसँग जोडेर प्रस्तुत गर्दा सामाजिक सञ्जाल प्रयोगकर्तामा गलत धारणा उत्पन्न हुनसक्ने देखिन्छ।
सार्वजनिक पदमा रहेकी नेताबाट सामाजिक सञ्जालमा प्रस्तुत गरिने सूचनाले ठूलो प्रभाव पार्ने भएकाले पुरानो र नयाँ घटनाबीच स्पष्ट भिन्नता नछुट्याई सामग्री सार्वजनिक गर्नु जिम्मेवार सञ्चारको मापदण्डसँग मेल नखाने आलोचकहरूको भनाइ छ।
ग्यास अभावजस्तो संवेदनशील विषयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा तथ्य, मिति र आधिकारिक विवरणका आधारमा सूचना प्रवाह गर्नुपर्ने देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?