सत्य, निष्पक्ष र विश्वसनीय

वीरगन्जका निलम्बित मेयर राजेशमान सिंहले पाए सफाइ, मेयर पदमा पुनःबहाली हुने

न्युज डेस्क
२०८३ भाद्र ३०, मंगलवार १०:२८

वीरगन्ज, ३० भदौ ।
वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।
सोमबार भएको बहसपछि विशेष अदालतका न्यायाधीशत्रय वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दाका सबै सात जना प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।


अदालतको फैसलासँगै सिंहको मेयर पदमा लागेको निलम्बनसमेत स्वतः फुकुवा भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहविरुद्ध अरूकी छोरीलाई आफ्नै छोरीका रूपमा झूटो विवरण पेस गरी नागरिकता दिलाएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने कानुनी व्यवस्थाअनुसार सिंह सोही दिनदेखि निलम्बित भएका थिए।
अख्तियारले सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएको आरोप लगाएको थियो। सिंहले भने भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका थिए।
यस मुद्दामा अख्तियारले सिंहसँगै वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको थियो।
विशेष अदालतले सिंहसहित सबै प्रतिवादीलाई आरोपबाट सफाइ दिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?