मितेरी पुलमा यात्रुका लागि चिसो पानी र विश्रामस्थल सञ्चालन
वीरगञ्ज, ३० भदौ
वीरगञ्जस्थित मितेरी पुल नजिक यात्रु तथा सर्वसाधारणका लागि चिसो पानीको मेसिनसहितको सुविधा सम्पन्न विश्रामस्थल सञ्चालनमा ल्याइएको छ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङ्गटा वेलफेयर सोसाइटीको संयुक्त आयोजनामा मंगलबार आयोजित कार्यक्रममा उक्त सुविधा केन्द्रको उद्घाटन गरिएको हो।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा, वीरगञ्ज भन्सार कार्यालयका अधिकृत काजीबाबु कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की तथा नेपाली सेनाको श्रीजंग गणका गणपति कर्णेल लोकेन्द्र कार्कीलगायतको उपस्थिति थियो।
त्यसैगरी सशस्त्र प्रहरी गुल्म भन्सारका प्रहरी निरीक्षक चन्द्रकान्त पौडेल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसाल, रुङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुङ्गटा र नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईंलगायत विभिन्न सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।
भारत–नेपाल सीमावर्ती मितेरी पुल क्षेत्रमा दैनिक ठूलो संख्यामा यात्रु तथा सर्वसाधारणको आवतजावत हुने भएकाले उनीहरूको सुविधालाई ध्यानमा राखेर चिसो पानीको व्यवस्था तथा विश्रामस्थल निर्माण गरिएको आयोजकले जनाएको छ। गर्मी तथा यात्राका क्रममा सर्वसाधारणलाई सहज रूपमा स्वच्छ र चिसो पानी उपलब्ध गराउने उद्देश्यले पानीको मेसिन जडान गरिएको हो।
कार्यक्रमकै अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सर्वसाधारणलाई ५०० वटा बिरुवा निःशुल्क वितरण गरिएको थियो। बिरुवा वितरणमार्फत सीमावर्ती क्षेत्र तथा वीरगञ्जमा हरियाली विस्तार गर्नुका साथै वातावरण संरक्षणप्रति नागरिकलाई सचेत गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा प्रहरी, सुरक्षा निकाय, सामाजिक संस्था तथा स्थानीय समुदायबीचको सहकार्यमा सार्वजनिक हितका गतिविधिलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको थियो।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले यसअघि पनि सरसफाइ, वृक्षरोपण, वातावरण संरक्षण तथा सार्वजनिक सेवा प्रवर्द्धनसम्बन्धी विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ।
मितेरी पुल क्षेत्रमा सञ्चालनमा ल्याइएको चिसो पानी तथा विश्रामस्थलबाट नेपाल–भारत आवतजावत गर्ने यात्रुका साथै स्थानीय सर्वसाधारणसमेत प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





