मकवानपुरमा ईभी माइक्रो दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं, ३० भदौ
काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको ईभी माइक्रो मकवानपुरमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन् ।
मधेस प्रदेश ०३००१ ज ०७२० नम्बरको ईभी माइक्रो मंगलबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रो सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार माइक्रोमा चालकसहित आठ जना सवार थिए । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धार गरिएका चार जनामध्ये एक जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने अन्य तीन जनालाई काठमाडौं लगिएको मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





