सत्य, निष्पक्ष र विश्वसनीय

बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

न्युज डेस्क
२०८३ भाद्र ३०, मंगलवार ०८:५७

विराटनगर, ३० भदौ
मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारको मृत्यु भएको छ।
सोमबार साँझ वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा गाउँपालिका–४ का ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए।
घाइते खड्कालाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले सोमबार साँझ ६ बजेर ५२ मिनेटमा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी (बोर्डर आउट पोस्ट) स्वर्णकट्टी, सप्तरीमा कार्यरत थिए।
दुर्घटनामा संलग्न बसका चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?