ट्रम्पद्वारा ‘रेड कार्पेट’ र सैन्य फ्लाईओभरसहित सीको भव्य स्वागत
काठमाडौँ, ८ असोज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित भव्य स्वागत गरेका छन्। स्वागतसँगै सीको तीनदिने अमेरिका भ्रमण सुरु भएको छ।
जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा स्थानीय समयअनुसार बुधबार साँझ आयोजित स्वागत समारोहमा ट्रम्प र सीले हात मिलाएका थिए। त्यसपछि दुवै नेता वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए। ट्रम्प स्वयं सीलाई गाडीसम्म पुर्याउन पुगेका थिए। त्यस क्रममा दुई नेताबीच संक्षिप्त कुराकानीसमेत भएको थियो।

ह्वाइट हाउसका संवाददाताका अनुसार सीको स्वागतमा गरिएको भव्य व्यवस्थाले ट्रम्पले यस भ्रमणलाई दिएको उच्च महत्त्व झल्काउँछ। भ्रमणका क्रममा दुई नेताबीच भेटवार्ता, बन्दसत्र बैठक तथा राजकीय भोज आयोजना हुने कार्यक्रम छ।
वार्तामा ट्यारिफ, आर्टिफिसियल इन्टेलिजेन्स, इरान युद्ध र ताइवान लगायतका विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ। अमेरिका–चीन सम्बन्धमा प्रभाव पार्न सक्ने भएकाले दुई नेताबीच हुने वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





