सत्य, निष्पक्ष र विश्वसनीय

वीरगन्ज महानगरको बजेट २१ करोडले घट्यो, ४ अर्ब २१ करोड ३४ लाखको संशोधित बजेट पारित

न्युज डेस्क
२०८३ आश्विन १४, बुधबार १६:५०

वीरगन्ज, १४ असोज 

 वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि यसअघि ल्याइएको बजेटमा संशोधन गर्दै कुल ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट पारित गरेको छ।

बुधबार सम्पन्न महानगरपालिकाको २१औँ विशेष नगरसभाले १० असारमा सम्पन्न २०औँ नगरसभाबाट पारित बजेटमा २१ करोड रुपैयाँ घटाएर नयाँ बजेट पारित गरेको हो।

यसअघि मेयर राजेशमान सिंह निलम्बनमा रहेका बेला कार्यवाहक मेयर तथा हालका उपमेयर इम्तियाज आलमको सभाध्यक्षतामा सम्पन्न २०औँ नगरसभाले चालु आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको थियो। विशेष अदालतबाट सफाइ पाएपछि असोज ३ गतेदेखि पुनः मेयरको जिम्मेवारी सम्हालेका सिंहले बुधबार विशेष नगरसभा बोलाएर बजेट संशोधन गरेका हुन्।

संशोधित बजेटमा चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपैयाँ अर्थात् ५६ प्रतिशत, पुँजीगततर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपैयाँ अर्थात् ४३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ अर्थात् १ प्रतिशत विनियोजन गरिएको छ।

महानगरका अनुसार संशोधित बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब २७ करोड रुपैयाँ, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ तथा प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ स्रोत रहनेछ।

त्यस्तै, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ र नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यहोर्ने संशोधित बजेटमा उल्लेख छ।

महानगरको आन्तरिक राजस्व परिचालनमा आएको संकुचन, वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट प्रक्षेपणअनुसार स्रोत प्राप्ति हुन नसकेको र अनिवार्य चालु खर्चमा वृद्धि भएकाले बजेट संशोधन गर्नुपरेको मेयर सिंहले नगरसभामा बताए।

बीपी उद्यानदेखि ‘उज्यालो वीरगन्ज’सम्म

विशेष नगरसभामा संशोधित बजेट प्रस्तुत गर्दै मेयर सिंहले घण्टाघरनजिक निर्माणाधीन बीपी उद्यानलाई वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तारसहित सुरक्षित, प्रविधिमैत्री र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरी चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने बताए।

रात्रिकालीन समयमा वीरगन्जलाई सुरक्षित र सौन्दर्यपूर्ण बनाउन विगतदेखि सञ्चालन हुँदै आएको ‘उज्यालो वीरगन्ज’ अभियानलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ। त्यसका लागि मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलईडी र हाइमास्ट बत्ती जडानलाई तीव्रता दिइने उनले बताए।

त्यस्तै, सडक करिडोर तथा डिभाइडरमा हरियाली प्रवद्र्धन, खुला ठाउँमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको व्यवस्थापन र ऐतिहासिक सम्पदा तथा पोखरीको सौन्दर्यीकरण गर्दै ‘स्वच्छ, हरित र वैभव वीरगन्ज’ अभियान सञ्चालन गर्ने योजना पनि उनले प्रस्तुत गरे।

शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्न सार्वजनिक विद्यालयको दरबन्दी संरचना, विद्यार्थी अनुपात र भौतिक संरचनाबीच तादम्यता कायम गरिने मेयर सिंहले बताए। भोजपुरी भाषा, संस्कृति, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धनका लागि भोजपुरी प्रतिष्ठानलगायत सम्बन्धित संस्था र व्यक्तिको सक्रियतामा कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।

नगरवासीको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई लक्षित गर्दै आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला तथा मनोरञ्जनस्थल र पार्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना पनि संशोधित बजेटमा समेटिएको छ। साथै निजी क्षेत्रसँगको सहकार्यमा महानगर क्षेत्रमा नगर बस सेवा सञ्चालन गर्ने योजना मेयर सिंहले सार्वजनिक गरेका छन्।

उपमेयरसहित कांग्रेसका जनप्रतिनिधि अनुपस्थित

बुधबारको विशेष नगरसभामा उपमेयर इम्तियाज आलम उपस्थित भएनन्। नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो दलबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यलाई विशेष नगरसभामा सहभागी नहुन निर्देशन दिएको थियो।

यद्यपि, महानगरमा हाल कायम १५६ नगरसभा सदस्यमध्ये ११८ जना विशेष नगरसभामा सहभागी भएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। उनका अनुसार आवश्यक बहुमत पुगेपछि मेयर सिंहले प्रस्तुत गरेको संशोधित बजेट बहुमतले पारित भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?