सत्य, निष्पक्ष र विश्वसनीय

रास्वपाका २० सांसद तथा नेता ११ दिने भ्रमणका लागि चीन प्रस्थान

न्युज डेस्क
२०८३ कार्तिक ३०, आईतवार १५:२३

काठमाडौं, २९ कात्तिक
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद तथा नेता ११ दिने चीन भ्रमणका लागि आइतबार प्रस्थान गरेका छन्। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको हो।

चीन प्रस्थान गर्न लागेको टोलीलाई रास्वपाका प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

महामन्त्री आचार्यको नेतृत्वमा रहेको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहभागी छन्।

त्यस्तै, सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि भ्रमण टोलीमा रहेका छन्।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचाउ र सिचुवानलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। टोलीले चीनले प्रविधि, नवप्रवर्तन, औद्योगिक विकास तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे अध्ययन गर्ने जनाएको छ।

टोलीका सदस्य तथा रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्दबहादुर चन्दले चीनको प्रविधिगत विकासलाई नेपालको आवश्यकता र क्षमताअनुसार उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताएका छन्।

उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, औद्योगिक उत्पादन तथा उद्यमशीलता विकासका क्षेत्रमा चीनले अपनाएका नीति र संस्थागत अभ्यासबारे जानकारी लिने योजना छ।

त्यसैगरी, टोली सदस्य डा. धनञ्जय रेग्मीले यस भ्रमणले नेपाल र चीनबीचको आपसी समझदारी तथा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गर्नु पनि भ्रमणको उद्देश्य रहेको उनको भनाइ छ।

चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?