सर्लाहीका १२ मृतकको लखन्देह नदी किनारमा सामूहिक अन्त्येष्टि
सर्लाही, २७ कात्तिक
तराई–मधेसको महान् पर्व छठ मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १२ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।

बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा ज्यान गुमाएका उनीहरूको शव शुक्रबार राति अबेरसम्म नजिकैको लखन्देह नदी किनारमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामूहिक रूपमा अन्त्येष्टि गरिएको हो।


उक्त दुर्घटनामा सुन्दरपुर गाउँकै १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १२ जनाको सामूहिक अन्त्येष्टि गरिएको हो।

दुर्घटनामा मृत्यु भएका चालक रविशंकर मण्डलको शव उनको गृहगाउँ कबिलासी लगिएको थियो। त्यसैगरी, रामप्रवेश यादवको घर सुन्दरपुर भए पनि परिवारका सदस्यहरू सदरमुकाम मलंगवामा बस्दै आएकाले उनको शव मलंगवा लगिएको थियो।
छठ पर्व मनाउन घर फर्किने क्रममा एउटै गाउँका ठूलो संख्यामा मानिसले ज्यान गुमाएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ। यस हृदयविदारक घटनाले स्थानीयवासी तथा आफन्तजनलाई गहिरो पीडामा पारेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





