सत्य, निष्पक्ष र विश्वसनीय

प्रहरी नेतृत्व हेरफेरको चर्चाबीचआकस्मिक कदम: प्रदेश प्रहरी प्रमुखरू नक्सालमा

न्युज डेस्क
२०८३ कार्तिक १३, बिहीबार १३:४१

काठमाडौं , १२ कार्तिक

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित केही उच्च प्रहरी अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएपछि प्रहरी प्रधान कार्यालयले उच्च प्रहरी अधिकृतहरूको आकस्मिक भेला बोलाएको छ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सहित सातवटै प्रदेशका प्रहरी प्रमुखलाई बिहीबार दिउँसो १२ बजेसम्म नक्सालस्थित प्रधान कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो।

प्रहरी उच्च स्रोतका अनुसार प्रहरी संगठनको चेन अफ कमान्ड, व्यावसायिक मर्यादा र शान्तिसुरक्षामा असर पार्न सक्ने राजनीतिक हस्तक्षेप तथा सञ्चारमाध्यममा भइरहेका चर्चाका विषयमा छलफल गर्न उच्च अधिकारीहरूलाई काठमाडौं बोलाइएको हो।

निर्देशनअनुसार कोशी प्रदेशका डीआईजी शेखर खनाल र मधेश प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी यसअघि नै काठमाडौंमा थिए। बागमती प्रदेशका डीआईजी दीपक रेग्मी, लुम्बिनीका डीआईजी भूपेन्द्रबहादुर खत्री, कर्णालीका डीआईजी जयराज सापकोटा र सुदूरपश्चिमका डीआईजी सानुराम भट्टराई हवाई मार्ग हुँदै काठमाडौं आएका छन्।

प्रदेश प्रहरी प्रमुखहरू प्रधान कार्यालय पुग्नुअघि नै आईजीपी कार्कीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को विशेष बैठक बसेको थियो। बैठकमा काठमाडौं उपत्यकामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देखि एआईजी तहसम्मका उच्च प्रहरी अधिकृतहरू सहभागी रहेको जनाइएको छ।

प्रहरी संगठनको व्यावसायिक स्वतन्त्रता, जनविश्वास र प्रहरी–जनता सहकार्यमा असर पर्ने गरी हुने राजनीतिक हस्तक्षेप तथा अपारदर्शी चलखेल स्वीकार्य नहुने अडान प्रहरी नेतृत्वले लिएको स्रोतको दाबी छ।

यसैबीच, सरकारले उचित आधारबिना पदमुक्त वा सरुवा गर्ने निर्णय गरेमा राजीनामा दिनुको सट्टा कानुनी उपचार खोज्ने तयारीमा आईजीपी कार्कीसहितको टोली रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार यस्तो अवस्था आएमा सर्वोच्च अदालत जाने विकल्पसमेतबारे छलफल भइरहेको छ।

यद्यपि, आईजीपीसहित उच्च प्रहरी अधिकारीलाई पदमुक्त गर्ने विषयमा सरकारको औपचारिक निर्णय सार्वजनिक भएको पुष्टि हुन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?