आईजीपी कार्कीले बोलाएको आकस्मिक पीसीसी बैठकमा चार घण्टा छलफल, सूचना चुहावट र प्रचारबारे चासो
काठमाडौं , १२ कार्तिक
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठकमा पछिल्लो घटनाक्रमबारे करिब चार घण्टा छलफल भएको छ।

बैठकमा मुख्य रूपमा दुई विषयले प्राथमिकता पाएको सहभागी एक उच्च प्रहरी अधिकृतले बताएका छन्। उनका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ‘कनेक्सन’ देखिएकी इनम सापकोटाबारे भइरहेको अनुसन्धानको सूचना चुहावट र आईजीपी कार्कीविरुद्ध भइरहेको प्रचारबारे छलफल भएको हो।
पछिल्लो समय सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउने तयारी गरेको भन्दै विभिन्न विवरण सार्वजनिक भइरहेका छन्। बैठकमा सहभागी प्रहरीका उच्च अधिकृतहरूले यस्ता विवरणलाई ‘अनर्गल प्रचार’ को संज्ञा दिएका छन्। संगठन प्रमुखविरुद्ध भइरहेको प्रचारको सामूहिक रूपमा प्रतिवाद गर्ने विषयमा समेत छलफल भएको सहभागी एक अधिकृतले बताए।
बैठकमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी), आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र आईजीपी कार्कीले आ–आफ्नो धारणा राखेका थिए।
यसैबीच, इनम सापकोटाबारे भइरहेको अनुसन्धानका क्रममा सूचना बाहिरिएको विषयले पनि बैठकमा प्राथमिकता पाएको बताइएको छ। हाल सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छिन्। अनुसन्धानसँग सम्बन्धित सूचना कसरी बाहिरियो र त्यसमा को संलग्न छन् भन्ने विषयमा छानबिन तथा आवश्यक कारबाहीबारे छलफल भएको प्रहरी अधिकृतहरूले बताएका छन्।
बैठकमा सहभागी एक अधिकृतका अनुसार अनुसन्धानको सूचना चुहावट भएको विषयमा कडा छानबिन र कारबाही गर्नेबारे छलफल भएको थियो।
आफूविरुद्ध भइरहेको प्रचारबारे धारणा राख्दै आईजीपी कार्कीले सार्वजनिक भएका विवरणमा सत्यता नरहेको दाबी गरेका थिए। उनले बैठकमा पछिल्लो समय बाहिर आएका विषयलाई असत्य भन्दै भ्रममा नपर्न आग्रह गरेको सहभागी एक अधिकृतले बताए।
पछिल्लो घटनाक्रमका बीच बसेको पीसीसी बैठकमा संगठनभित्रको सूचना चुहावट नियन्त्रण, अनुसन्धानको गोपनीयता कायम गर्ने र प्रहरी नेतृत्वबारे सार्वजनिक भइरहेका विवरणका विषयमा छलफल भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





