सत्य, निष्पक्ष र विश्वसनीय

बाँकेको अम्बे स्टिल कम्पनीमा भीषण आगलागी, ८ जना घाइते, दुई जनालाई भारत रिफर

न्युज डेस्क
२०८३ कार्तिक १६, आईतवार १२:०१

बाँके, १५ कात्तिक
बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।

आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ।

आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना गरी आठ जना घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो।

घाइते हुनेमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन्।

त्यस्तै, भारतको बहराइच जिल्ला कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद घाइते भएका छन्।

घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनको अवस्था मध्यम रहेकाले थप उपचारका लागि आइतबार बिहान ८ः४५ बजे भारतको लखनउ रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कम्पनीमा भएको भौतिक तथा अन्य क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?