आईजीपी दानबहादुर कार्कीमाथि पत्रकारमाथि हत्या प्रयासको आरोप, सर्वोच्चले माग्यो प्रमाण सुरक्षित राख्न
काठमाडौं, १५ कात्तिक
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र उनकी श्रीमती नविना खत्री कार्कीमाथि समाचार लेखेकै कारण पत्रकारमाथि हत्या प्रयास गराएको आरोप लागेको छ। सुरक्षा मामिलामा कलम चलाउँदै आएका पत्रकार मदन भण्डारीमाथि तीनकुनेस्थित सिद्धार्थ कटेज परिसरमा भएको सांघातिक आक्रमण प्रकरण प्रहरी नेतृत्वसँग जोडिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ।
पीडित पत्रकार भण्डारीमाथि आक्रमण गर्ने क्रममा ‘दानबहादुर दाइको बारेमा समाचार लेख्ने तँ नै होइनस्?’ भन्दै धम्की दिइएको आरोप छ। घटनामा संलग्नमाथि कारबाहीका लागि जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले अस्वीकार गरेको र पछि महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएको दाबीसमेत गरिएको छ।

प्रहरी प्रशासनबाट न्याय नपाएको भन्दै पीडित पत्रकार अदालत पुगेपछि सर्वोच्च अदालतले घटनासँग सम्बन्धित महत्त्वपूर्ण प्रमाण सुरक्षित राख्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज, कल विवरण तथा अन्य प्रमाण नष्ट वा लोप हुन नदिन यथास्थितिमा सुरक्षित राख्न आदेश दिएको हो।

यस प्रकरणलाई थप चर्चामा ल्याउने अर्को विषय आक्रमणमा संलग्न भनिएका व्यक्तिहरू आईजीपी कार्की नियुक्त भएकै दिन बधाई दिन बालुवाटार पुगेको भिडियो सार्वजनिक हुनु हो। त्यस्तै, घटनापछि पक्राउ परेका केही अभियुक्तलाई प्रहरी नेतृत्वको निर्देशनमा रिहा गरिएको आरोप पनि लगाइएको छ।
गम्भीर घाइते अवस्थामा रहेका पत्रकार भण्डारीले आफ्नो कल डिटेल र टावर लोकेसन आईजीपी कार्कीकै निर्देशनमा अवैध रूपमा ट्र्याक भइरहेको दाबी गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको बताइएको छ। तर, यस विषयमा सरकारले कुनै सार्वजनिक धारणा नदिएको आरोप छ।
यसअघि डीआईजी रहेका बेला पनि कार्कीले अर्का एक पत्रकारलाई बालुवाटार बोलाएर पेस्तोल देखाउँदै ज्यान मार्ने धम्की दिएको विषय सार्वजनिक भएको दाबी समाचारमा गरिएको छ।
सर्वोच्च अदालतले घटनासँग सम्बन्धित प्रमाण सुरक्षित राख्न आदेश दिएपछि पत्रकारमाथिको आक्रमण, प्रहरी प्रशासनको भूमिका र निष्पक्ष अनुसन्धानको विषय फेरि चर्चामा आएको छ। यस प्रकरणले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र प्रहरी संगठनको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
साभार : ग्यालेक्सी खबर

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





