सत्य, निष्पक्ष र विश्वसनीय

प्रहरीको गोली लागेर घाइते आदित्यलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

न्युज डेस्क
२०८३ कार्तिक १६, आईतवार १४:३७

वीरगन्ज/पर्सा, १५ कात्तिक
बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका छोरा आदित्यलाई आइतबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) पठाइएको हो। उनीसँगै उनका बुवा, ठूलो बुवा र दाइसमेत काठमाडौं गएका छन्।

शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच विवाद भएको थियो। अस्पतालमा आवश्यक पूर्वाधार, चिकित्सक, नर्स, शय्या तथा स्वास्थ्य सेवा सुनिश्चित नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए।

विरोध प्रदर्शन चर्किँदै गएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर आदित्य गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा चिकित्सकले शल्यक्रिया गरी उनको शरीरमा लागेको गोली निकालेका थिए। थप उपचार आवश्यक देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।

अस्पतालमा स्वास्थ्य सेवा सञ्चालनको माग

स्थानीयवासीले अस्पताल भवनको उद्घाटन मात्र नभई आवश्यक जनशक्ति, चिकित्सक, नर्स, शय्या र सम्पूर्ण स्वास्थ्य सेवा सञ्चालनको सुनिश्चितता गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। यही विषयमा सुरु भएको विवादले उग्र रूप लिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

झडपका क्रममा अस्पतालमा तोडफोड हुनुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी भएको थियो। घटनामा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।

यसैबीच, फेटामा भएको विवाद र प्रहरीसँगको झडपबारे स्थलगत छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय समिति गठन गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्।

समितिलाई घटनास्थलको स्थलगत अध्ययन तथा छानबिन गरी घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख परिवर्तन

घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्।

लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा पठाइएको एसपी कुँवरले बताएका छन्।

प्रहरीको गोली लागेर एक किशोर गम्भीर घाइते भएपछि घटनाले थप संवेदनशील रूप लिएको छ। छानबिन समिति गठन र प्रहरी नेतृत्व परिवर्तनसँगै अब समितिको प्रतिवेदनले झडपको वास्तविक कारण, गोली चलेको परिस्थिति र घटनामा प्रहरीको भूमिकाबारे थप तथ्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?