नेपाल प्रिमियर लिगमा अनलाइन सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ
काठमाडौं, १९ कात्तिक
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, भोजपुर जिल्लास्थित टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका–१७ ठमेल बस्दै आएका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन्।
प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग–२०२६ मा केही व्यक्तिहरूले अनलाइनमार्फत सट्टेबाजी गराउने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा सिन्हालाई नियन्त्रणमा लिई उनको साथमा रहेको मोबाइल फोन दुई थान जाँच गर्दा allpanelexch9.game, apwin247.com, bazimaaro.online र tnbook247.com नामक अनलाइन बेटिङ साइटहरूमा लगइन गरी नेपाली रुपैयाँ ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ।
यस घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





