सत्य, निष्पक्ष र विश्वसनीय

मेयर राजेशमान सिंहको निवास आगजनी प्रकरण : लियाकत अलीलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन माग, बिहीबार सुनुवाइ हुँदै

न्युज डेस्क
२०८३ कार्तिक १९, बुधबार २०:२८

वीरगञ्ज, १८ कार्तिक

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निजी निवासमा भएको आगजनी तथा तोडफोड घटनामा धरौटीमा रिहा भएका लियाकत अलीलाई पनि पुर्पक्षका लागि कारागार पठाउन माग गर्दै उच्च अदालतमा दायर निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ।

जिल्ला अदालत पर्साले लियाकतलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै निवेदक पक्षले उच्च अदालतमा निवेदन दिएको हो। एउटै घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको अवस्थामा लियाकतलाई मात्र धरौटीमा रिहा गर्नु न्यायसंगत नभएको निवेदक पक्षको जिकिर छ।

यसअघि जिल्ला अदालत पर्साले उक्त घटनामा अब्बु भनिने अयुब हुसेन र हिन्दु सम्राट सेनाका उपाध्यक्ष रञ्जन सिंहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। अदालतको आदेशपछि दुवै जना हाल कारागारमा छन् भने लियाकत भने धरौटीमा रिहा भएका थिए।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मेयर सिंहको निजी निवासमा आगजनी तथा तोडफोड भएको थियो। उक्त घटना आन्दोलनको आडमा व्यक्तिगत रिसइबी साँध्ने उद्देश्यले योजनाबद्ध रूपमा गराइएको निवेदक पक्षको आरोप छ।

घटनापछि मेयर सिंहको परिवारले संलग्न रहेको आरोपमा विभिन्न व्यक्तिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी आरोपितहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो।

निवेदक पक्षले लियाकतको समेत घटनामा संलग्नता रहेको दाबी गर्दै जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश बदर गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गरेको छ।

अब बिहीबार उच्च अदालतमा हुने सुनुवाइले लियाकत अलीको मुद्दामा जिल्ला अदालतको आदेश कायम रहने वा बदर हुने भन्ने विषयमा महत्वपूर्ण निर्णय दिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?