भीषण रेल दुर्घटना : ६८ जनाको मृत्यु, सयौँ यात्रु घाइते
काठमाडौं, १८ कात्तिक
स्पेनमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। दुर्घटनामा रेलका कैयौँ डिब्बा लिकबाट बाहिरिएर ढिस्कोबाट तल खसेका छन्।
बीबीसीका अनुसार बुधबार बिहान म्याड्रिडबाट सेभिलतर्फ गइरहेको रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटना बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज क्षेत्रको बीचमा भएको बताइएको छ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटिका कारण दुर्घटना भएको बताएका छन्। उनका अनुसार निजी रेल सञ्चालक कम्पनी इरियोको स्वामित्वमा रहेको १४७ जना यात्रु सवार रेल प्राविधिक समस्याका कारण लिकमै रोकिएको थियो।
त्यसैक्रममा स्पेनको सरकारी रेल्वे कम्पनी रेनफेद्वारा सञ्चालित ३९७ जना यात्रु बोकेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको इरियो कम्पनीले जनाएको छ।
दुर्घटनापछि रेलका डिब्बाहरू क्षतिग्रस्त हुँदा उद्धार कार्य निकै कठिन बनेको थियो। उद्धार गरिएका यात्रुहरूले रेल ठोक्किँदा आफूहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्यालका सिसा फुटाउनुपरेको पीडादायी अनुभव सुनाएका छन्।
उक्त दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै भीषण रेल दुर्घटनामध्ये एक मानिएको छ। साथै, पछिल्लो १३ वर्षयताकै स्पेनमा भएको सबैभन्दा ठूलो रेल दुर्घटनाका रूपमा लिइएको छ।
दुर्घटनापछि उद्धार तथा राहत कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





