सत्य, निष्पक्ष र विश्वसनीय

रौतहटमा गोली प्रहारबाट २८ वर्षीय एक युवक गम्भीर घाइते

न्युज डेस्क
२०८३ कार्तिक १९, बुधबार ०८:०८

रौतहट, १८ कात्तिक 

रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।

मंगलबार राति करिब ९ः१५ बजे गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिकै स्थानीय अन्दाजी २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।

पेस्तोलबाट प्रहार गरिएको गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। गोलीका छर्रामध्ये तीनवटा ढाडमा, एउटा दाहिने पाखुरामा र दुईवटा दुवै खुट्टामा गरी जम्मा ६ वटा छर्रा लागेको बताइएको छ।

घटनापछि घाइते यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनास्थलमा प्रहरीले ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला पारेको छ। गोली प्रहार कसले र किन गरेको भन्ने विषय भने खुल्न सकेको छैन।

घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?